स्थानीय विकास अधिकारीको भनाई
सेवावितरणलाई प्रभावकारी तुल्याई
जनतालाई सुशासनको प्रल्याभुति दिलाउनु प्रत्येक स्थानीय निकायको
प्रमुख दायित्व हो । सेवा दिने निकाय र सेवाग्राही वीचको दुरी
घटाई सेवालाई जनताको नजिक कसरी पुर्याउन सकिन्छ भन्ने
विषयमानै प्रत्येक राष्ट्रसेवकको ध्यान केन्द्रित हुनु पर्दछ भन्ने
मलाई लाग्दछ । जिल्ला विकास समिति प्रतिनिधिमुलक संस्था हो । जनताका
हरेक समस्याहरु यहाँ प्रतिबिम्बित हुने गर्दछन् । जनताको प्रत्यक्ष
सम्पर्क हुने यस कार्यालयको वारेमा प्रत्येक रुपन्देहीबासीले
जानकारी लिन खोज्नु स्वभाविक हो । हालका दिनहरुमा जिल्ला विकास
समितिको कार्यालयमा जिल्लाको जानकारी लिन आउनेहरुको क्रम बढ्दो छ ।
जिल्ला विकास समितिको कार्यालयमा आफूले चाहेको जानकारी लिन सकिन्छ
भन्ने मानसिकताको विकास जनतामा हुनु संस्थाको लागि महत्वपूर्ण कुरा
हो ।
विकास गतिविधिलाई प्रभावकारी रुपमा
अगाडी बढाउन ब्यवस्थित सूचना प्रणाली अपरिहार्य हुन्छ । यही
कुरालाई मध्यनजर राख्दै जिल्ला विकास समितिको कार्यालय रुपन्देही
सूचना प्रवाहका क्षेत्रमा प्रयासरत छ । यस कार्यालयवाट प्रवाह गरिने
सेवा सुविधाको वारेमा सेवाग्राही अलमलिन नपरोस भन्ने
अभिप्रायले हामीले कार्यालयवाट प्रदान गर्ने सेवाको विवरण,
पुर्याउनु पर्ने प्रकृया, सेवा प्राप्त गर्नेले तिर्नुपर्ने
शुल्क, दस्तुर, पेश गर्नुपर्ने कागजातहरु, लाग्ने समय, सेवा दिने
जिम्मेवार कर्मचारीको नाम आदि सहितको विवरण उल्लेख गरिएको नागरिक
वडापत्र पर्चा, पम्प्लेट र पुस्तिकाको रुपमा छपाई वितरण गरेका छौं
। साथै सबैले देख्ने ठाउँमा उल्लेखित सबै कुरा लेखिएको होर्डिङ्ग
वोर्ड कार्यालय अगाडि राखिएको छ । यस कार्यलाई अरु ब्यवस्थित रुपमा
सरोकारवाला सबै जनताले घरमै बसेर पनि सेवाप्राप्ति सम्बन्धी सबै
कुरा बुझून् भन्ने अभिप्रायले जिल्ला विकास समितिको कार्यालय
रुपन्देहीको आफनै वेवसाईट तयार गर्ने जमर्को गरेका हौं । यसका
अतिरिक्त यस वेवसाईटमा रुपन्देही जिल्लाको समग्र तथ्याड्ढलाई
संक्षिप्तमा समेट्ने प्रयास गरिएको छ । सेवाग्राहीले दिनुपर्ने
दिनुपर्ने निवेदन र सेवासंग संवन्धित केही फारमहरु समेत यसमा
राखिएको छ । यस कार्यालयको वारेमा जनताहरुका केही गुनासा र
महत्वपूर्ण सुझावहरु पनि हुनसक्छन् जसले समग्र जिल्लाको विकासमा
महत्वपूर्ण भुमिका खेल्न सकोस त्यसका लागि जनगुनासो एवं सुझाव पेज
राखेका छौं । यसवाट सेवा प्रभाव प्रक्रिया लाई थप ब्यवस्थित गर्न
सहयोग मिल्लेछ भन्ने मैले आशा लिएको छु । जिल्ला भित्ररहेका
सूचनाहरु विद्युतीय माध्यमवाट जनता समक्ष पुर्याउने हाम्रो यो
प्रयास प्रयाप्त नहुन सक्छ । आगामी दिनमा यसलाई थप परिमार्जित
गर्दै लगिने छ । हाल यस वेवसाईटले यस जिल्लाको वारेमा जानकारी
राख्न चाहने सर्वसाधारण, विद्यार्थी एवं अनुसन्धानकर्तालाई समेत थप
केही सहयोग पुर्याउन सक्नेछ भन्ने विश्वास मैले लिएको छु ।
धन्यवाद ।
स्था. वि. अ.
जिविसको कार्यालय, रुपन्देही